प्रधानमन्त्रीका नाममा रेकर्ड नै रेकर्ड
- डा. टीकाराम पोखरेल
रेकर्ड ब्रेक नं. १ : हाम्रो देश नेपालले पहिलोपटक एसएलसीमा बोर्डफस्र्टर् भएको व्यक्ति प्रधानमन्त्री पाएको छ । यो बोर्डफस्र्टर् र प्रधानमन्त्री दुवैको सञ्चारमाध्यममा खुब चर्चा पनि भएको छ । नहोस् पनि कसरी ? आखिर अहिलेसम्म एसएलसीमा बोर्डफस्र्ट भएको मान्छे कहिल्यै यो देशको प्रधानमन्त्री भएकै थिएन । त्यसैले जताततै पहिलो बोर्डफस्र्ट प्रधानमन्त्री भनेर डा.साहेबको नामको धुमधाम चर्चा हुनैपर्छ भन्नेमा मेरो पनि एकमत छ । फेरि यो जमाना पहिलो हुने र रेकर्ड ब्रेक गर्नेहरूको हो । आखिर रेकर्ड बे्रक गरेपछि चर्चा पाउनुपर्छ नि होइन र ? तर डा.साबले रेकर्ड ब्रेक यति एउटा बोर्डफस्र्ट प्रधानमन्त्री भएर मात्र गरेका होइनन् । डा.साबले प्रधानमन्त्री हुँदा धेरै कुरामा रेकर्ड ब्रेक गरेका छन् । त्यसैले एउटा मात्र रेकर्ड बे्रकको कुरा गर्दा डा.साबको अवमूल्यन भयो जस्तो लागेर डा.साबको यो भक्त डा.साबको रेकर्ड बे्रक पुराण सुनाउन बसेको छ । तपाईं सुन्दै जानूस् म भन्दै जान्छु ।
रेकर्ड ब्रेक नं. २ : हाम्रा डा.साब गोर्खाबाट चुनाव जितेका पहिला प्रधानमन्त्री हुन् । यो रेकर्ड कसैले कायम गरेको छ भने मलाई भनिहाले हुन्छ । मेरो भनाइमा करेक्सन गरौँला । तपाईं भन्नुहोला गोर्खाका कृष्णप्रसाद भट्टराई पनि यसअगाडि प्रधानमन्त्री भए । तर, ती भट्टराई यी डा.साबले जस्तो चुनाव जितेर प्रधानमन्त्री नभएकाले डा.साब यहाँ पनि प्रथम नै हुन् । त्यति मात्र होइन, आजसम्म संविधानसभाबाट तीनजना प्रधानमन्त्री बने पनि डा.साब जति धेरै भोट ल्याउने अरू कोही प्रधानमन्त्री नबनेकाले यहाँ डा.साब संविधानसभामा सबैभन्दा धेरै भोट ल्याएर रेकर्ड ब्रेक गर्ने प्रधानमन्त्री पनि हुन् ।
रेकर्ड ब्रेक नं. ३ : हाम्रा डा.साब पिएचडी भएर चुनाव जितेर प्रधानमन्त्री हुने पनि पहिलो हुन् । यसअगाडि अर्का डाक्टर केआई सिंह प्रधानमन्त्री भएका भए पनि ती डा.साब यी डा.साबजस्तो चुनाव जितेर प्रधानमन्त्री बनेका थिएनन् । तत्कालीन राजा महेन्द्रको निगाहमा प्रधानमन्त्री बनेका डाक्टरले चुनावै जितेर प्रधानमन्त्री बनेका वर्तमान डा.साबको रेकर्ड ब्रेक गर्ने कुरै भएन । त्यसैले यहाँ पनि भट्टराई डा.साब पहिला रेकर्ड बे्रकर हुन् ।
रेकर्ड ब्रेक नं. ४ : जहावरलाल नेहरू विश्वविद्यालयबाट पिएचडी गरी प्रधानमन्त्री हुने पहिलो व्यक्ति पनि डा.साब हुन् । खै त यसअगाडि जवाहरलाल नेहरू विश्वविद्यालयबाट पिएचडी गरेको कुनै व्यक्ति यो देशको प्रधानमन्त्री भएको थियो र ? मलाई थाहा नभए पनि तपाईंहरूलाई कतै थाहा छ भने मलाई भनिहाल्नुस् है । यो पनि म करेक्सन गरिहाल्छु ।
रेकर्ड ब्रेक नं. ५ : हाम्रा डा.साब स्वदेशमै निर्मित मुस्ताङ गाडी चढ्ने पहिलो प्रधानमन्त्री हुन् । यसअगाडिका कुनै पनि प्रधानमन्त्रीले मुस्ताङ गाडी चढेनन् । खालि टोयटा, पजेरो र प्राडो मात्र चढे । बरु यी डा.साब मुस्ताङ गाडी चढ्ने मात्र होइन, प्रधानमन्त्री भएपछि टोयटा, प्राडो र पजेरो त्याग्ने पनि उनी नै पहिला हुन् । प्रधानमन्त्री हुनुअगाडि उनले मुस्ताङबाहेक अरू गाडी चढे पनि प्रधानमन्त्री भएपछि चाहिँ मुस्ताङ नै चढेर डा.साबले सबैलाई यहाँ पनि सबैलाई उछिनेर रेकर्ड ब्रेक गरेका छन् ।
रेकर्ड ब्रेक नं. ६ : डा.साब एमाओवादीका उपाध्यक्षबाट प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन् । यसअघि माओवादीका अध्यक्ष प्रधानमन्त्री भए पनि तीन/तीनजना उपाध्यक्षबाट कोही पनि प्रधानमन्त्री भएका थिएनन् । यो पनि डा.साबको रेकर्ड ब्रेक हो । यो ब्रेक कसैले तोड्न सक्छ भने च्यालेन्ज गरे हुन्छ ।
रेकर्ड ब्रेक नं. ७ : एमाले र काग्रेस दुवै पार्टीलाई विपक्षमा राखेर सरकार गठन गर्ने पहिलो प्रधानमन्त्री पनि डा.साब नै हुन् । यसअघिका कुनै पनि प्रधानमन्त्रीका साथमा कि कांग्रेस कि एमाले हुन्थे । डा.साबले यसमा पनि रेकर्ड तोडका छन् । सम्भवतः इतिहासमै पहिलोपटक कांग्रेस र एमालेलाई एकैपटक सरकारबाहिर पारेर डा.साबले रेकर्ड तोडेका हुन् ।
रेकर्ड ब्रेक नं. ८ : त्यसैगरी मधेसवादी दलसँग चारबुँदे सहमति गरेर बनेका पहिलो प्रधानमन्त्री पनि डा.साब नै हुन् । यसअघिका प्रधानमन्त्री मधेसवादी दलसँग टक्क चारबुँदे सहमति गरी प्रधानमन्त्री बनेका थिएनन् । बरु कसैका सातबुँदे हुँदा हुन्, कसैका कति बुँदे । त्यो पनि अरू नै पार्टीबीच भएकोले यसरी मधेशवादीसँग भएको ४ बुँदे समझदारी यो नै पहिलो हो ।
रेकर्ड ब्रेक नं. ९ : संविधानसभाको म्याद समाप्त हुनुभन्दा ठीक ४ दिनअगाडि प्रधानमन्त्री बन्ने डा.साब पहिला हुन् । यसभन्दा अगाडि नेपालमा संविधानसभाको म्याद समाप्त हुनुभन्दा ठीक चार दिनअगाडि कोही पनि प्रधानमन्त्री बनेको रेकर्ड छैन । बरु यसअघि संविधानसभाको म्याद थप्ने बेलामा धेरै प्रधानमन्त्रीले आफ्नो जागिर चट् गर्ने कागजमा हस्ताक्षर गर्नुपरेको थियो ।
रेकर्ड ब्रेक नं. १० : प्रधानमन्त्री पदको शपथग्रहणपछि र पदबहाल गर्नुअघि पुष्पलालको सालिकमा माल्यार्पण गर्न पुग्ने पहिलो प्रधानमन्त्री पनि डा.साब नै हुन् । यसअघिका प्रधानमन्त्रीले सहिदगेटमा सहिदको सालिकमा माल्यार्पण गर्ने परम्परा तोडेर पुष्पलालको सालिकमा माल्यार्पण गर्दै डा.साबले रेकर्ड तोडका छन् ।
रेकर्ड ब्रेक नं. ११ : डा.साब ०६८ भदौ ११ गते संविधानसभाबाट निर्वाचित भएका पहिलो प्रधानमन्त्री हुन् । यसअगाडिका प्रधानमन्त्री यो मितिमा नियुक्ति भएका थिएनन् न त भविष्यमै यो मितिमा अरू कुनै प्रधानमन्त्री नियुक्त होलान् ।
रेकर्ड ब्रेक नं. १२ : डा.साब ध्ाोवीघाट मिसनबाट बनेका पहिलो प्रधानमन्त्री हुन् । धोबीघाटबाटै उनको प्रधानमन्त्री हुने पहिलो पाइलो सुरु भएको हो । भोलिका दिनमा कसैले धोबीघाट मिसन चलाएर प्रधानमन्त्री भएछ भने पनि त्यो दोस्रो नम्बरमा पर्नेछ । रेकर्ड ब्रेक त फेरि डा.साबकै हातमा पर्नेछ ।
रेकर्ड ब्रेक नं. १३ : गोंगबुतिर डेरा गरेर बसी प्रधानमन्त्री हुने डा.साब पहिलो व्यक्ति हुन् । आजसम्म जति यो देशमा प्रधानमन्त्री बने ती कोही भक्तपुर बस्ने, कोही मालिगाउँ बस्ने, कोही महाराजगञ्ज बस्ने, कोही नयाँबजार बस्ने, कोही कोटेश्वर बस्ने र कोही छाउनीतिर बस्नेहरू मात्र थिए । त्यसैले डा.साब त गोंगबुका पो त । लौ जा, स्थानविशेषको बसाइमा पनि डा.साबको रेकर्ड ब्रेक !
रेकर्ड ब्रेक त कति छन् कति डा.साबका । सुन्नेले सुन्न र भन्नेले भन्न मात्र सक्नुपर्छ, । बजारभरि रेकर्डका बग्रेल्ती ! डा.साबका रेकर्ड मेरा हातमा पनि चाङका चाङ छन् । सार्वजनिक जीवनदेखि लिएर व्यक्तिगत जीवनसम्मका, भान्सादेखि संविधानसभासम्मका र पालुङटारदेखि पेरिसडाँडासम्मका ।
तपाईंहरू मलाई डा.साबका रेकर्ड कति छन् त ? भनेर थप प्रश्न गर्नुहोला । म भन्छु- सयौँ छन्, हजारौँ छन्, लाखौँ छन् । डा.साबको पहिलो रेकर्ड मात्रै पनि दिनभरि भन्न सकिन्छ, हप्तौँ भन्न सकिन्छ र महिनौँ भन्नलाई पनि पुग्छ । फेरि हजारौँ हुँदाहुँदै किन यहाँ यति थोरै मात्र उल्लेख गरेको
त ? भनेर तपाईंहरूले म माथि फेरि पनि प्रश्न गर्नुहोला । तर, यति रेकर्ड उल्लेख हुँदा डा.साबका लागि गिनिज बुकमा नाम लेखाउन पर्याप्त हुने भएकाले बाँकी लेखिरहन नपर्लाजस्तो मलाई लागेकाले
अहिलेलाई यति नै ! शान्ति र संविधान त्यस्तै हो रेकर्ड ब्रेक नै ठूलो कुरा हो नि, होइन त ? नया पत्रिका


No comments:
Post a Comment