सरकारमा आउन दलहरूलाई आह्वान
दलका नेताहरूसँगैको कुर्सीमा बसेका डा. भट्टराईका बाबु भोजराज छोरालाई आर्शीवाद दिएपछि छोरासँगै बसे
शपथपछि प्रधानमन्त्री स्वदेशमै बनेको मुस्ताङ गाडी चढेर राष्ट्रपति निवासबाट बाहिरिए, तर उनकी धर्मपत्नी गाडीमा थिइनन्
प्रधानमन्त्रीको शपथ लिएपछि सहिदगेट र सहिद स्मारक जाने परम्परा तोड्दै डा. भट्टराई पुष्पलाल पार्क चम्पादेवी पुगे
मन्त्रिपरिषद्को पहिलो बैठकमा जनआन्दोलन, जनयुद्ध, मधेस तथा पिछडावर्गका आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको सम्मान गर्ने निर्णय
नयाँ पत्रिका
काठमाडौं,
डा. बाबुराम भट्टराईले शपथ लिएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शान्ति र संविधानलाई टुंगोमा पुर्याउन संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा आउन आह्वान गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलहरूको सहमतिविना शान्ति र संविधानको जिम्मेवारी पूरा गर्न नसकिने र संविधानसभाबाटै संविधान जारी गर्नुपर्छ भन्ने विषयलाई सरकारले आत्मसात् गरेको जनाएको छ ।
बैठकले खनाल नेतृत्वको सरकारले प्रस्ताव गरेअनुसार संविधानसभाको म्याद तीन महिना थप्ने निण्र्ायलाई निरन्तरता दिने निर्णय गरेको गच्छदारले जानकारी दिए । जनआन्दोलन, जनयुद्ध, मधेस तथा पिछडावर्गका आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति श्रद्धाञ्जलीअर्पण गर्दै घाइतेको सम्मान गर्ने निण्र्ाय गरेको छ ।
त्यसअघि माओवादी तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सिंहदरबारमा बिहान भएको बैठकले मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान तथा गृहमन्त्री दिने निर्णय गरेको थियो । बैठकले मंगलबारसम्ममा सहमति गरेर सरकारलाई छिटो विस्तार गर्ने पनि माओवादी र मोर्चाबीच सहमति भएको छ ।
राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहमा राष्ट्रपति डा. यादवले नयाँ प्रधानमन्त्री भट्टराईलाई शपथ गराएका हुन् ।
माओवादी उपाध्यक्षसमेत रहेका डा. भट्टराई प्रधानमन्त्रीको शपथ लिन १ बजे राष्ट्रपति भवन पुगेका थिए । उनी भादगाउँले टोपी, कोट, सर्ट र पाइन्ट लगाएर शपथका लागि पुगेका थिए । राष्ट्रपति यादव १ बजे र ६ मिनटमा समारोह स्थल आइपुगेका थिए ।
नेपाली सेनाको टुकडीको सलामीपछि राष्ट्रपति यादवले प्रधानमन्त्री भट्टराईलाई १ बजेर १३ मिनेटमा शपथ गराएका थिए । शपथलगत्तै राष्ट्रपति यादवले नवनिर्वाचित प्रधानमन्त्री भट्टराईलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना दिएका थिए । उनले उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष र प्रधानन्यायाधीशलाई नवनिर्वाचित प्रधानमन्त्रीसँग औपचारिक रूपमा परिचय गराएका थिए । त्यसलगतै प्रधानमन्त्री भट्टराईले राष्ट्रपतिको समेत उपस्थितिमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीको शपथ गराएका थिए ।
शपथग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेलका साथै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू उपस्थित थिए । तर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र एमाले नेता केपी ओली भने शपथग्रहणमा सहभागी थिएनन् । त्यस्तै, संवैधानिक अंगका प्रमुखहरू, प्रधानसेनापतिका साथै सुरक्षा निकायका प्रमुखहरू र उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो । उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र प्रधानसेनापतिले प्रधानमन्त्रीलाई बधाई दिएका थिए । संवैधानिक निकायका प्रमुखहरूले बधाईपछि कूटनीतिक नियोगका प्रमुखहरूले उनलाई बधाई दिएका थिए । त्यसपछि राजनीतिक दलका नेताहरूका साथै राष्ट्रपति भवनमा उपस्थित विभिन्न व्यक्तिले बधाई तथा शुभकामना दिएका थिए ।
छोरालाई बधाई दिन प्रधानमन्त्री भट्टराईका पिता भोजराज पनि राष्ट्रपति भवन पुगेका थिए । राजनीतिक दलका नेताहरूसँगैको कुर्सीमा बसेका भोजराज छोरालाई बधाई तथा आर्शीवाद दिएपछि सँगै बसेका थिए ।
एक घन्टासम्म उभिएर प्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री गच्छदारले बधाई थापेका थिए । सबैसँगको बधाई साटासाटपछि राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री भट्टराई २ बजेर २७ मिनेटमा राष्ट्रपति कार्यालयबाट बाहिरिएका थिए । धर्मपत्नी हिसिला यमी राष्ट्रपति कार्यालयमा उपस्थित भए पनि डा. भट्टराई गाडीमा एक्लै र्फकेका थिए । तर, विगतका अन्य प्रधानमन्त्रीले भने शपथ लिएपछि धर्मपत्नीका साथ राष्ट्रपति कार्यालयबाट बाहिरिने गरेका थिए । शपथपछि प्रधानमन्त्री भट्टराईले कीर्तिपुरस्थित पुष्पलालको सालिकमा माल्यार्पण्ा गरेका थिए । शपथ खाएपछि प्रधानमन्त्रीहरू सहिदगेट पुग्ने गरेका थिए भने तीन वर्षअघि प्रधानमन्त्री हुँदा प्रचण्ड पनि लैनचौरस्थित सहिदपार्क गएका थिए ।
चम्पादेवीबाट फर्केर पदबहाली गर्न प्रधानमन्त्री कार्यालय पुगेका डा. भट्टराईलाई मुख्य-सचिव माधव घिमिरेले स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रधानमन्त्री डा. भट्टराईले शान्ति र संविधान नै आफ्नो मुख्य प्राथमिकता भएको बताए । उनले जनतालाई राहत प्रदान गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रधानमन्त्री स्वदेशी गाडीमा
नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शपथग्रहण गरेलगत्तै नेपालमा बनेको 'मुस्ताङ' गाडी प्रयोग गरेका छन् । शपथ लिएपछि राष्ट्रपति कार्यालयपरिसरबाट उनी मुस्ताङ म्याक्स गाडी चढेर फर्केका थिए । राष्ट्रपति यादवबाट शपथ गरेपछि नवनिर्वाचित प्रधानमन्त्री भट्टराई बा१झ ९३६० मुस्ताङ जिपमा चढेर बहालीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
उनले चढेको मुस्ताङ म्याक्स गाडीको मूल्य करिब १८ लाख पर्दछ । सुविधाअनुसार मुस्ताङ गाडीको मूल्य १४ लाखदेखि २० लाखसम्म पर्दछ ।
प्रधानमन्त्री पदमा निर्वाचित हुने पक्का भएपछि भट्टराईले आइतबार नै नेपालमै बनेको 'मुस्ताङ जिप' चढ्ने बताएका थिए । उनको इच्छाअनुसार नै सो गाडी हिजो नै सिंहदरबार ल्याइएको थियो । प्रधानमन्त्रीका उम्मेदवार बन्ने भएदेखि नै डा. भट्टराईले सो गाडीका विषयमा जानकारी लिनुका साथै गाडी चढेर उनले परीक्षणसमेत गरेको स्रोतको दाबी छ ।
नेपाली उत्पादन वृद्धि गर्न सहयोग पुगोस् भनेर आफूले मुस्ताङ गाडी चढेको प्रधानमन्त्रीले बताए । 'नेपाली उत्पादन वृद्धि गर्न सांकेतिक रूपमा प्रयोग गरेको हुँ,' शपथपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री डा. भट्टराईले भने ।

मुस्ताङ म्याक्स गाडी निर्माता समूहका दिवाकर गोल्छाले प्रधानमन्त्रीले नेपाली गाडी प्रयोग गर्दा नेपालको औधोगीकरणमा सहयोग पुग्ने बताए । 'नेपाली उत्पानदलाई प्रवर्द्धन गर्ने अवसर हो, यसले नेपाली उत्पादन र नेपालको औधोगीकरणमा ठूलो सन्देश जान्छ भन्ने विश्वास लिएका छौँ, यो नेपालका लागि सौभाग्यको कुरा भन्नुपर्छ,' शपथग्रहण समारोहमा शीतलनिवास पुगेका उनले भने । मुस्ताङ गाडी विराटनगरस्थित हुलास मोटर्स कम्पनीले उत्पादन गर्दै आएको छ ।
विराटनगरमा डेढ दशकदेखि गाडी उत्पादन गर्दै आएको सो कम्पनीले प्रधानमन्त्रीले आफ्नो उत्पादनको गाडी चढ्ने भएपछि त्यसलाई थप सुविधासम्पन्नका साथै त्यसको फिनिसिङमा पनि परिवर्तन गर्ने तयारी गरेको छ । छिट्टै सो कम्पनीले नयाँ ढाँचाको गाडी प्रधानमन्त्री भट्टराईलाई दिने तयारी गरेको छ । २५४० सिसीको डिजेल इन्जिन रहेको सो गाडी नेपालका सबैजसो भूभागका लागि उपयोगी मानिन्छ । मुस्ताङ म्याक्स हुलास मोटर्सको सबैभन्दा पछिल्लो उत्पादन हो ।
नया पत्रिका.कम
नया पत्रिका.कम


No comments:
Post a Comment